एमालेमा बादललाई चिठ्ठा, ओलीले दिए महत्वपूर्ण जिम्मेवारी
काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रबेश गरेको रामबहादुर थापा बादललाई एमालेमा चिठ्ठा परेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएपछि चिठ्ठा परेजस्तै भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा माओवादी छाडेर एमालेमा लागेका बादललाई विशेष जिम्मेवारी दिईएको हो । आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ ।
बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।
संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विधान महाधिवेशनको प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने भएको छ । बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
