प्रचण्डले आफूखुशी मन्त्री छान्दा माओवादी केन्द्रमा लफडा
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी मन्त्रीहरुको लिष्ट तयार पारेपछि माओवादी केन्द्रमा लफडा भएको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।
उक्त जिम्मेवारीको दुरुपयोग गरेको भन्दै पार्टीका प्रबक्ता नारायणकाजीले आपत्ती जनाएपछि लफडा भएको हो । श्रेष्ठले आफ्नो तर्फबाट मन्त्रीहरुको लिष्टमा कोही पनि नपरेको भन्दै बखेडा झिकेका हुन् ।
शिक्षा र स्वास्थ्य मन्त्रालयमध्ये एउटा दिनपर्ने अडान राख्दै आएका श्रेष्ठलाई यो पटक प्रचण्डले कुनै पनि मन्त्रालय नदिने बताएपछि लफडा भएका हो । यही विषयमा आज पार्टीको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुङ्गो लगाउने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् ।
प्रचण्डले पार्टीमा सल्लाह नगरी उनीहरुलाई सुटुक्क मन्त्री बनाएपछि नारायणकाजी रिसाएका थिए । आजको बैठकमा श्रेष्ठको तर्फबाट अंजना विसुँखेलाई मन्त्री बनाउने गरी छलफल हुने सम्भावना रहेको एक नेताले बताए ।
शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
प्रचण्डले सुदन किराती, मात्रिका यादव, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज (अथक)लार्य मन्त्री बनाउने भन्दै लिष्ट तयार पारेका थिए । यो लिष्टमा विसुंखेलाई पनि राख्नपर्ने श्रेष्ठको अडान छ ।