दार्चुला घटनाबारे अनुसन्धान गर्न डरायो सरकार, भारतसँग पर्यो लमपसार
काठमाडौं – दार्चुला घटना घटेको आज ५ दिन पुगेको छ । सरकारले आफ्नो उदासिनताका कारण आजसम्म पनि भारतसँग औपचारिक कुरा गर्न सकेको छैन् ।
परराष्ट्र मन्त्रालयले नयाँ दिल्ली स्थित नेपाली दुतावास मार्फत घटनाको बारेमा जानकारी गराएर दोषिमाथि कारवाहीका लागि पहल गर्न पर्ने भएपनि सरकारले त्यतातीर चासो देखाएको छैन् । गृहमन्त्री बालकृष्ण खाँड उल्टै यस विषयमा सरकारले बोल्न नमिल्ने बताउँन्छन् ।
घटनाको छानविनका लागि समिति गठन गरिसकिएको र सो समितिको विस्तृत प्रतिवेदन नआएसम्म सरकारले केही बोल्न नमिल्ने उनले भनाई छ । ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिँदै धारण तय गर्छ,’ गृहमन्त्री खाँणले भने ।
सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले छानविन समितिको प्रतिवेदनका आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘हामी आफैंले छानविन समिति बनाइरहेको अवस्थामा छानविनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानविनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुका लागि हामी जुनसुकै अडान लिन पनि तयार छौँ,’ उनले भने ।
‘भारतीय एसएसबीको हर्क ठिक छैन् यस विषयमा हामी कुरा गछौँ’ भन्न पर्नेमा गृहमन्त्रीको यस्तो अभिव्यक्तिले सरकार भारतसँग लमपसार परेको अर्थ लाग्ने कुटनीतिक क्षेत्रका जानकारहरको भनाई छ ।
गएको शुक्रबार महाकाली नदिमाथिको तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए ।