मन्त्री नबनाए आत्महत्या गर्ने माओवादी नेताको चेतावनी, तनावमा प्रचण्ड
काठमाडौं – मन्त्री छनोटको विषयमा नेकपा माओवादी केन्द्रमा लफडा भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री नबनाए आत्महत्या गर्ने सम्मका धम्की आउन थालेका छन् ।
मन्त्री बन्नका लागि गुट बदल्ने, पार्टी फेर्नेलगायतका धम्की त सामान्य भएपनि आत्महत्या नै गर्छु भनेर आएको धम्की भने पहिलो हो । त्यो पनि सार्वजनिक कार्यक्रममै ।
मन्त्री नबनाए आत्महत्या गर्छु भनेर इमोसनल ब्ल्याकमेलिङ गर्ने सांसद हुने माओवादीका पुराना नेता हरिबोल गजुरेल । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेको उनले पार्टीको बैठकमा नै आफूलाई मन्त्री नबनाए आत्महत्या गर्ने चेतावनी दिएका हुन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन आयोजित बैठकमा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद गजुरेलले यस्तो अनौठो धम्की दिएका हुन् । ‘म टोपबहादुरसँगै एमालेमा गएको भए मन्त्री हुने थिएँ,’ गजुरेलले बैठकमा दिएको धम्की उद्धृत गर्दै एक नेताले भने, ‘म बाबुराम भट्टराईको पनि नेता हो । मेरै नेतृत्वमा बाबुरामहरू माओवादीमा एकीकृत भएका हुन् । मलाई नपठाएर नारायणकाजी वा अरू कसैलाई पठाए आत्महत्या गर्छु । मैले किन अवसर नपाउने ?’
गजुरेलले बैठकमा आत्महत्याको कुरा गरेपछि नेताहरू भावुक बनेका थिए । गजुरेलको यस्तो धम्कीपछि प्रचण्डसमेत तनावमा परेको बताइन्छ । माओवादी केन्द्रमा अहिले मन्त्री हुनेबीच मात्र होइन, पार्टीबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि उत्तिकै प्रतिस्पर्धा र द्विविधा छ ।
खासगरी नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र हरिबोल गजुरेलले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी राख्दै आएका छन् । नारायणकाजीले पार्टीको तर्फबाट सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेपछि तेस्रो व्यक्ति गजुरेललाई अवसर दिएर उनलाई रोक्ने रणनीतिमा केही नेता लागेका छन् ।
स्रोतका अनुसार, हरिबोलले बैठकमा आत्महत्याको धम्की दिएपछि महरा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरूले उनलाई नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्नेगरी पठाउन समर्थन गरेका छन् । आफ्नो काउन्टरमा हरिबोललाई अघि सारेपछि नारायणकाजी भने निराश बनेका छन् ।
गजुरेल यसअघि ८ महिना कृषि मन्त्री बनेका थिए । गमलामा धान रोप्नेदेखि गाई मरेको प्रसंगमा ग्वाँ ग्वाँ रोएपछि उनी मजाकको पात्र बनाइएका थिए । उनै गजुरेलले आत्महत्याको धम्की दिएपछि मन्त्री छान्ने बैठक बिना निष्कर्ष स्थगित भएको छ ।