माधव नेपालको निर्णयले एमालेमा खुशीयाली, देउवाको कुर्सी हल्लियो

शुक्रबार, २२ साउन २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकताको पक्षमा जाने घोषणा गरेका छन् । दुई दिनसम्म चलेको आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधनका क्रममा नेता नेपालले जेजसो भए पनि एमाले एकताकै पक्षमा आफू रहेको बताएका हुन् ।

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आफ्नो विश्वास भएको भन्दै उनले एकताको पक्षमा जाने बताएका हुन् । सम्बोधनका क्रममा नेता नेपालले भने, ‘कतिपय साथीहरुले केपी ओलीले अल्मल्याउन खोजेको भन्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने ठान्दछु, एकतामा नै जोड दिन चाहन्छु।’

नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिदै एमाले एकताका लागि दक्षिणपन्थी विचार त्याग्नुपर्ने बताए । उनले केपी ओलीले जति गाली गरे पनि आफु पार्टी मिलाउने पक्षमा रहेको स्पष्ट पारे ।

केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिँदै चार बुँदे प्रस्ताव पारित गरेको छ। बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गरेको छ । नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताउँदै आफ्नो कारणले मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्ने भनाइमा सत्यता नभएको बताएको छ।

नेपाल पक्ष सरकारमा नजाँने बिषयले अब, देउवा सरकारलाई भने अलमल हुने निश्चित देखिएको छ । माधव नेपाल समूहले देउवालाई सहयोग नगरेमा देउवाको कुर्सी हल्लिने छ । उनीहरुको मतले विश्वासको मत दिएका देउवा नेपाल समूहलाई सरकारमा सहभागी गराउन चाहान्थे । तर त्यो सम्भावना अव टुङ्गीैको छ ।

यो विषयले नेकपा एमालेमा भने खुशीयाली छाएको छ । नेताहरुले एकाताको मार्ग चयन गर्दा कार्यकर्तामा आशाको संचार भएको छ ।