यस्तो अवस्थामा भेटिए माओवादी केन्दका मेयर दास, झ्यालबाट खिचेको फोटो भाइरल

शनिबार, २३ साउन २०७८

जनकपुरधाम – माओवादी केन्द्रबाट निर्वाचित सांसदको आपक्ति जनक अवस्थाको तस्वीर भाइरल भएको छ । धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको तस्वीर भाइरल भएको हो ।

उनले आफ्नो कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो । उनले नगरपालिकाका कार्यालय सहयोगी करन दासबाट मसाज सेवा लिएका हुन् ।

तस्वीरमा मेयर दास आरामसँग खुट्टा तेस्र्याएर सोफामा सुतेका छन् भने युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छ । कोठाको ढोका थुनेर मेयर दासले मालिस गराइरहेको फोटो कसैले झ्यालबाट खिचेर फेसबुकमा हालिदिएका थिए ।

दास नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् । पछिल्लो समय उनी नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई स्पष्टीकरण सोधेको थियो ।

विवादमा आएका मेयर दासले आफूलाई सञ्चो नभएको भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको बताए । कोरोना भाइरसको भ्याक्सिन लिएपछि आफू बिरामी बनेको उनको भनाइ छ ।

‘कार्यालयमा साउन मसान्तमा धेरै भिड हुन्छ । त्यसैले सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिएँ । तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने, ‘बिरामी भएपछि अरु कसलाई भन्ने, आफ्नै भाइलाई त हो नि ।’

मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन् । भाइले अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको उनले बताए ।