सरकारलाई ओलीको प्रश्न, ‘कालापानी–लिपुलेक फिर्ता ल्याउँछौं किन भन्न नसकेको’
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको टिप्पणी गरेका छन् । सरकारको साझा कार्यक्रममा कालापानी–लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै उनले आपत्ति जनाए ।
संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो ।’
उनले भने, ‘के यो समस्या हो ? हाम्रो अभिन्न भू–भाग, पवित्र भू–भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने रु त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’
उनले थपे, ‘त्यो हाम्रो पवित्र भू(भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं ।’
छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख गरिएको विषयमा पनि ओलीले प्रश्न उठाए । उनले भने, ‘कुन–कुन देशसँग कहाँ–कहाँ के समस्या छ ?
कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।’