मन्त्री माग्न घरदैलो गर्दै झाँक्री, एकाबिहानै पुगिन गोल्फुटार

मंगलबार, २६ साउन २०७८

काठमाडौंँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको दौडधुप बढेको छ । देउवा सरकारमा मन्त्री बन्नका लागि उनको दौडधुप बढेको हो ।

आफ्नो पार्टीका, माओवादी केन्द्रका र काँग्रेस नेताहरुलाई भेटेर उनले सक्ता समितिकरणलाई कसिलो बनाउन कसरत गरिरहेकी छन् । उनलले मंगलबार बिहान नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेकी छिन ।

खड्काको गोल्फुटारमा रहेको घरमा मंगलबार बिहान खड्का र झाँक्रीकोबीचमा भेटवार्ता भएको कांग्रेस स्रोतले जनाएको छ । झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान हतारिएकी एउटा नेतृ पनि हुन ।

उनी नेपाल समूहले छुट्टै पार्टी बनाएर चाँडो सरकारमा जानुपर्छ भन्ने पक्षधारको नेतृ समेत हुन । उनीहरूको बीचमा सत्ता साझेदारीकै केही विषयमा कुरा भएको बुझिएको छ । उनी माधव नेपालको दूतको रूपमा खड्का निवास पुगेको कांग्रेस नेताहरूको बुझाइ छ ।

नेपालले डा. विजय पौडेललाइ सत्ता साझेदारको बैठकमा पठाएपछि बिरोध भएको थियो । त्यसपछि झाँक्रीले कांग्रेस नेताहरूसँग कुरा गर्न सुरू गरेकी छिन । मंगलबार बिहान झाँक्रीले खड्का भेटेपछि नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ माधव नेपालसँग भेटवार्ता गरेका छन ।

उनीहरूको बीचमा पनि सत्ता साझेदारी र नेपालले खोल्ने नयाँ पार्टीको बारेमा कुराकानी भएको बुझिएको छ । हामीले झाँक्रीसँग भेटका बारेमा बुझ्न फोन गरेका थियौँ । यद्यपी उहाँसँग सम्पर्क हुन सकेन ।

उनीसहित गोकर्ण विष्ट, बेदुराम भुषाल, मेटमणी चौधरी, किसान श्रेष्ठ र विरोध खतिवडा मन्त्री बन्ने छन् ।