हितेन्द्रलाई नयाँ जिम्मेबारी दिएर कुलमानलाई प्राधिकरणमा नियुक्त
काठमाडौं – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।
घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्ने तयारी थालिएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो ।
ऊर्जामन्त्रीको अध्यक्षतामा हुने आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरू, सरकारले नियुक्त गरेका दुईजना विशेषज्ञहरू, इन्जिनियरिङ अध्ययन संस्थानका डिन, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्यका रूपमा रहन्छन् ।
यी कुनै पनि सदस्यले आयोगबाट तलब पाउँदैनन् । तर, शाक्यलाई भने पूर्णकालीन तलबी सदस्यका रूपमा पदस्थापन गर्न सरकारले नियमावली नै स्वीकृत गरेको बुझिएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालको पहलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रस्ताव गरेका थिए ।
त्यही अनुसार मन्त्री भुसालले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्कोमा लैजानु भएको थियो । कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर ०७७ भदौ २८ मा बिदा भएको थिए ।