बाबुरामको अर्को ट्वीट, जसले खोलिदियो केपी ओलीको पोल

बिहिबार, २८ साउन २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पोल खोलिदिएका छन् । सामाजिक संजालमा ट्वीट गर्दै भट्टराईले ओलीको पोल खोलिदिएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओली र उनका नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरेको बताउँदै प्रधानमन्त्री चुन्ने प्रणाली बारे सम्झाएका छन् । उनले संविधान बनेको बेलामा केपी ओलीकै कारण संसदीय व्यवस्थामा गएको भन्दै अहिले ठूलो कुरा नगर्न भनेका छन् ।

उनले संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वभाविक हैन र भन्दै प्रश्न समेत गरेका छन् ।

मध्यरातमा एक ट्वीट गर्दै उनले भनेका छन्, ‘ओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो । संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन र ?’

उनले अगाडि भनेका छन्, ‘त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाउँ न त ! त्यो चाहिं नमान्ने रे ! चिची पनि पापा पनि खोज्न मिल्छ ?’ २०७२ सालको संविधान जारी हुनभन्दा अघि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री चुन्ने व्यवस्था गरौँ भन्दा ओलीले अट्को थापेका थिए ।