एमालेका दुई जना सांसदलाई कारवाही गर्ने तयारी

बिहिबार, २८ साउन २०७८

रुपन्देही – नेकपा एमालेले आफ्ना दुई जना सांसदलाई कारवाही गर्ने भएको छ । सुर्य चुनाव चिन्हबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट विजयी विमला वलीलाई कारवाही गर्ने भएको हो ।

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन माग गरेको निवेदनमा दुबै जनाले हस्ताक्षर गरेपछि पार्टीले कारवाही प्रकृया अगाडि बढाएको हो। सांसद वली यसअघि नै पत्रकार सम्मेलन गरेर माओवादी प्रवेशको घोषणा गरेकी थिइन् भने शाहीले बिहीबार पेस गरेको निवेदनमा हस्ताक्षर गरेका हुन् ।

शाहीले बुधबार सम्पन्न एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी गरेको निर्णय विपरीत सहभागिता जनाएका थिए । सत्तारुढ एमालेले संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

तर, सांसद अजय शाही भने बैठकमा सहभागी भएका हुन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासीपश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए । शाही चार दलीय गठबन्धनको पक्षमा आएको र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले बुधबार नै बताएका थिए ।

यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला वलीको कारवाही प्रकृया पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने र शाहीलाई पनि कारबाही गरिने बताए ।

उनले भने, ‘पार्टी निर्णयविपरीत जान कसैलाई छुट छैन, चुनावमा सूर्य चिन्ह लिएर जित्ने अनि अनुचित लाभमा पार्टी फेर्नेलाई तत्काल कारवाही हुन्छ । व्यक्तिका असहमति हुनसक्छन्, त्यो पार्टीभित्र छलफल गर्नुपर्दछ, विपक्षी दलसँग सहकार्य गरेर अगाडि बढ्न पाइँदैन ।’

शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर, संघीय सरकारमा मन्त्री रहेका हृदयश त्रिपाठीनिकट रहेका शाहीले अर्को दिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए । शाही र विमला वलीलाई एमालेले कारवाही गरेर सांसद पदबाट मुक्त गराउन पहल थालेको छ ।

नेकपाबाट निर्वाचित वलीले फागुन २३ को फैसलापछि एमाले रोजेर संसदीय दलका केही बैठकमा समेत भाग लिएकी थिइन् । उनले बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित एमालेले कारवाही प्रक्रिया अघि बढाएको हो ।