अन्ततः फुट्यो एमाले, पार्टी महासचिवमा धनश्याम भुसाल, नाम र चुनाव चिन्ह यस्तो
काठमाडौँ – अन्ततः नेकपा एमाले फुट्ने भएको छ । एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएसँगै फुट्ने पक्का भएको हो । फुटको कानुनी आधार तयार गर्न सरकारले आजै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदैछ ।
बरिष्ठ नेता माधवकुमार नेपालसमूहले दलको सम्पूर्ण डकुमेन्ट तयार पारिसकेको छ । विश्वस्त स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र नाम जुधेको खण्डमा कम्युनिस्ट र समाववादी नछोडी नाम जुराउने सहमति भएको छ ।
यसको अन्तिम टुंगो माधव नेपाल र बामदेव गौतम बसेर गर्दैछन् । उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग पनि परामर्श गर्ने बुझिएको छ ।
नयाँ दलका लागि घनश्याम भुसालले विद्यान तयार गरिरहेका छन् । यो पार्टीको महासचिव पनि भुसाललाई बनाउने गरी नेपाल र गौतमले सहमति गरिसकेको विश्वस्त स्रोतले बताएको छ ।
महासचिव सुरेन्द्र पाण्डेलाई अवसर दिने भन्ने विषयमा पनि छलफल भएको थियो तर उनी नेपाल पक्षमा आउने नआउने टुंगो नलनगेपछि अहिलेलाई रोकिएको छ । यसैगरी, नयाँ दलमा माधव नेपाल नै अध्यक्ष रहने बुझिएको छ । झलनाथ खनाल र बामदेव गौतमले वरिष्ठ नेता या सहअध्यक्षमध्ये कुनै पद पाउने बुझिएको छ ।
एमालेमा रहँदा स्थायी कमिटीमा रहेका र केन्द्रीय कमिटीमा रहेकाहरुले महत्वपूर्ण जिम्मेवारी पाउने गरी तयारी गरिएको छ । सांसद भएकाहरुले पनि पार्टी कमिटीमा महत्वपूर्ण जिम्मेवारी पाउने बुझिएको छ । पार्टीको चुनाव चिन्ह कलमलाई अन्तिम रुप दिइएको छ ।