एक जोर जुत्ताले फेरिएको जीन्दगी
काठमाडौँ – जापानमा ओहोया नामका एक धनी व्यक्ति थिए। उनले नयाँ जुत्ता किन्नु पर्ने भयो। आफ्ना हुयोसी नामका नोकरलाई जुत्ता किन्न पठाए। जुत्ता किनेर फर्कँदै गर्दा ठूलो पानी पर्यो।
मालिकका जुत्ता नभिजून् भनेर हुयोसीले जुत्ता बेस्सरी काखीमा च्यापे। जोडसँग च्यापेका कारण जुत्ताको आकार प्रकार बिग्रियो। जुत्ताको हालत देखेर मालिकलाई रिस उठ्यो । आवेशमा आएर उनले तिनै नयाँ जुत्ताले हुयोसीलाई बेस्सरी हिर्काए। हिर्काउँदै हिर्काउँदै हुयोसी बेहोस भएर लड्यो। होस आउँदा कोठामा कोही पनि थिएन। मालिकका बिग्रिएका जुत्ता भने त्यहीँ थिए।
सानो गल्ती गर्दा ठूलो सजाय पाएको हुयोसी त्यस घरबाट हिँड्यो। अघि आफूले बजारबाट ल्याएका जुत्ता पनि साथै लिएर गयो। उसले त्यो धनी व्यक्तिसँग बदला लिने विचार गर्यो। ओहोया बुद्ध धर्मका अनुयायी थिए। उनी बौद्ध भिक्षुहरूसँग भेट्न गइरहन्थे। हुयोसीले आफू पनि बौद्ध भिक्षु बन्ने विचार गर्यो। त्यसो गर्दा ओहोयासँग बदला लिने अवसर सजिलो प्राप्त हुन्छ भन्ने उसलाई लाग्यो।
लामो साधना र अध्ययनपछि हुयोसी विद्वान् र श्रेष्ठ भिक्षु बने। उनको प्रसिद्धि चारैतिर फैलियो। उनलाई आचार्यको पद पनि मिल्यो। धनवान् ओहोयाले वृद्धावस्थामा एउटा विशाल बुद्ध मन्दिरको निर्माण गरे। मन्दिरको प्राणप्रतिष्ठा गर्नका लागि ओहोयाले आचार्यलाई निमन्त्रण गरे। निमन्त्रण पाएर आचार्य प्रसन्न भए। उनलाई आज ओहोयाँसँग बदला लिने राम्रो अवसर मिल्ने भो भन्ने लाग्यो।

लेखक : डा. कर्णाखर खतिवडा
रात्रिको समय थियो। ओहोया सुतिरहेका थिए। आचार्यले बदला लिने विचार गरे। उनी ओहोयाको हत्या गर्नका लागि तयार भए। त्यही बेला उनले बुद्धको “शत्रुता गरेर कहिल्यै शत्रुता समाप्त हुँदैन। रगत लागेको कपडा रगतले धोएर सफा हुँदैन पानीले पो धुनु पर्छ।” भन्ने उपदेश सम्झिए। आचार्यले तत्कालै आफ्ना हातमा भएको हतियार फ्याँके अनि सुते।
भोलिपल्ट बिहान प्रवचन सभाकक्षमा पुग्दा आचार्यका हातमा जुत्ता थियो। ओहोयालाई आश्चर्य लाग्यो। उनले “यस्तो पवित्र समयमा आचार्यज्यूका हातमा अपवित्र जुत्ता छ नि ?” भनी सोधे। आचार्यले भने, “यो जुत्ता अपवित्र होइन, परम पवित्र छ। यही जुत्ताले मलाई साधनाका मार्गमा प्रवृत्त गरायो। यही जुत्ताले मलाई आचार्यका आसनमा बसायो।”
ओहोयाले आचार्यले भन्न खोजेको कुरा बुझेनन्। उनी जिज्ञासुभावले आचार्यका मुखमण्डलतिर हेर्न थाले। आचार्यले ओहोयाको नाम नलिइकनै जुत्ताको सबै कहानी सुनाए। प्रवचन सकिनासाथ ओहोयाले आँखाभरि आँशु पारेर भने, “आचार्यज्यू, त्यो अपराधी म नै हुँ।”
आचार्यले भने, “तपाईं अपराधी होइन। तपाईंले त मेरो ठूलो उपकार गर्नुभयो। एक जोर जुत्ताले मेरो जीवन मार्ग बदलिदियो। मैले जीवनको सही मार्ग भेट्टाएँ।” आचार्य र ओहोयाको संवाद सुनेर आश्चर्यचकित भएका सभासद्हरूले आचार्यको जयजयकार गरे। -डा. खतिवडा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भाषाविज्ञान विभागका सह-प्राध्यापक हुन् ।