बालकोटमा भएको सहमतिबारे माधव नेपालले मुख खोली, के एमालेमा फर्किएलान् ?

सोमबार, ७ भाद्र २०७८

काठमाडौं – सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी एकताको पक्षमा उभिएका मध्यमार्गी नेताहरुबीच सहमति भयो । उक्त सहमतिलाई माधवकुमार नेपाल समूहले ललिपपको संज्ञा दिएको छ ।

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले अब नेकपा एमालेमै फर्किने सम्भावना नरहेकाले त्यस्तो सहमति एमालेमै बसेकाहरुको लागि मात्र भएको छ । लामो समय नेपाल समूहमा रहेका नेताहरुले १० बुँदे कायन्वयन गर्न सहमति भएको थिए ।

नयाँ पार्टीमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाललगायतले सोमबार भएको छलफलमा अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् । भोलि मंगलबार विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २ जेठ २०७५ मा फर्काउने कार्यतालिका बनाउने छ ।

भेटमा सहभागी नेताहरुका अनुसार स्थायी कमिटी बैठकले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा आउन नेताहरुलाई आह्वान गर्ने सहमति पनि गरेको छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुले भने यसको अर्थ नभएको बताएका छन् । नेपाल समूहका नेता राजेन्द्र राई भन्छन्, ‘त्यो (बालकोट) वार्तामा हाम्रा प्रतिनिधि छैनन् । हाम्रो प्रतिनिधि नभएपछि वार्ता के मतलब ?’

यो माधव नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टीमा नआएका नेताहरुको फेससेभिङका लागि मात्र भएको उनी बताउँछन् । ‘केही साथीहरु जसरी पनि जान चाहनुहुन्थ्यो, केहीलाई फेससेभिङ चाहिएको थियो, सहमति त्योभन्दा केही होइन ।’

उनका अनुसार २ जेठमा फर्किनुपर्ने आफूहरुको सुरुवाती माग हो । तर अहिले वैचारिक मतभिन्नता धेरै भएको भन्दै केन्द्रीय सदस्य राई भन्छन्, ‘पार्टी एकताका लागि वातावरण चाहिन्छ, मिलेर काम गर्ने विश्वास हुनुपर्छ । संगठनिक विषय र राजनीतिक वैचारिक मुद्दा मिल्नुपर्छ । तर अहिले यो कुनै पनि अवस्था छैन ।’

ओलीले आफ्नो कमजोरी स्वीकार गर्नेभन्दा पनि टालटुल पारेर पार्टीमा हुल्ने र मौका पाएको बेला किनारा लगाउने दाउ मात्र भएको खेलेको नेता राईको आरोप छ ।