माधव नेपालले भने, ‘भीम रावलसहितका नेता ओलीको टाङमुनि छिरे’

सोमबार, ७ भाद्र २०७८

काठमाडौं – नेकपा एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका माधवकुमार नेपाललाई विश्वासीला नेताहरुले धोका दिएका छन् । पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई लगायतका नेताहरुले नेपाललाई धोका दिएका हुन् ।

धोका दिएका नेताहरुले वार्ताको प्रस्ताव गर्दा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका छन् । चन्द्रागिरी हिल्स रिसोर्टमा आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब निर्वाचन आयोगमा दल दर्तापछि मात्र वार्ता हुने बताए ।

नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो ।’

नेपालले १० बुँदे सहमति जालझेलमात्र थियो भन्दै दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेर टाङमुनी छिरेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।

नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।

नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।

रिसोर्टमा नेताहरुको व्यवस्थापन चर्चित व्यापारी चन्द्र ढकालले गरेका छन् । उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले खाँदा र बस्दा लाग्ने खर्च व्यहोर्ने बताइएको छ ।