यी हुन ‘घर न घाट’को भएका एमालेका ७ नेता, जसको सांसद पद पनि धरापमा

बुधबार, ९ भाद्र २०७८

काठमाडौं – नेकपा एमालेका ७ जना केन्द्रीय सदस्य घर न घाटको भएका छन् । तीनजना संघीय सांसद, एक प्रदेशसभा सदस्य, र तीन केन्द्रीय सदस्य घर न घाटको भएका हुन् ।

अन्तिममा माधव नेपाललाई साथ दिएर निर्वाचन आयोग पुगेका उनीहरु यता न उताको भएको छ । उनीहरुले दल विभाजनमा सनाखत गर्न पाएनन् । दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले सनाखत हुन नसकेको हो ।

दिल्लीमा रहेका झलनाथ खनालको भने सनाखत भएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् ।

पाण्डे शुरुमा एमाले एकता अभियानमा थिए । माधव नेपालका सम्धी भएकाले उनी अन्तिममा एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले आयोगले सनाखत गर्न नमानेको हो ।

त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर उनीहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् ।

केन्द्रीय सदस्य भाष्कर काफ्लेको पनि सनाखत हुन नसकेको नेता प्रेम आलेले बताए । सनाखत नहुने सांसदले अब एमाले त्यागेमा सांसद पद जाने भएकाले निर्वाचन आयोगविरुद्ध उनीहरु सर्वोच्च अदालत जाने सम्भावना छ ।

नेकपा एमालले कारवाही गरेको खण्डमा उनीहरुको पद चट हुने छ । उनीहरुलाई पार्टी फुटाएको भन्दा पनि दल त्याग गरेको अर्थमा लाग्ने भएकाले उनीहरुको पद स्वतह रिक्त हुने छ ।