काबुलमा १३ अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गयो, नेपालीको अवस्था के छ ?

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं – गएराति अफगानस्थानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको ज्यान गएको हो ।

उक्त घटनामा २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ ।

रास्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई कारबाही गरिने बताएका छन् । यो आक्रमणले अगष्ट ३१ भित्रै काबुल छाड्ने अमेरिकी योजनामा कुनै बदलाब नआउने उनले प्रष्ट पारे ।

तलिबानले पनि घटनाको निन्दा गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने जनाएको छ । विमानस्थलबाहिर आतंककारी आक्रमण हुन सक्ने अमेरिकी चेतावनीको केही घन्टामै यो विष्फोट भएको हो ।

अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौं बिदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन ।

हिजोको घटनाले उद्दार कार्य प्रभावित हुने होकि भन्ने चिन्ता थपिएको छ । विमास्थलमा नेपाली समेत रहेको समाचारहरु बाहिरिएका छन् ।

उद्दारको पर्खाइमा रहेका ४२ जना नेपाली सुरक्षित रहेको काबुल मामिला हेर्ने नेपालको दिल्ली नियोगले जनाएको छ । राजदूत निलाम्बर आचार्यले नेपाली सुरक्षित रहेको बताएका छन् ।

उनले आतंकबादी आक्रमणको खबर आइरहेकोले उनीहरुलाई काबुल विमानस्थलबाट टाढा जान अपील गरेका छन । परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई उद्दारको प्रयास भइरहेको जनाएको छ ।