माधव नेपालले गरे राजनीतिबाट सन्यास लिने घोषणा
काठमाडौँ – नेकपा एमाले फुटाएर एकिकृत समाजवादी पार्टीको अध्यक्ष बनेका माधवकुमार नेपालले आफूले छिट्टै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । पार्टी अध्यक्ष बनको भोलीपल्टै नेपालले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।
निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादी पार्टी दर्ताको प्रमाणपत्र बुझेको भोलिपल्टै पार्टी अध्यक्ष नेपालले आफुले राजनीतिबाट पाँच बर्षपछि सन्यास लिने घोषणा गरेका हुन् । अध्यक्ष बने पछिको पहिलो पत्रकार सम्मलेनमै नेपालले यस्तो घोषणा गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफू जीन्दगीभर पदमा बस्न नचाहेको बताए ।
‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ । अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना रहेको भन्दै चरित्र र व्यवहार बदले ओली नेतृत्वको एमालेसँग पनि एकता हुनसक्ने बताए ।
त्यस्तै अमेरिकी आर्थिक परियोजना एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा उनले एमसीसी सम्झौता परिमार्जन गरेरमात्रै स्वीकार गरिने बताए । एकीकृत समाजवाद का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् ।
पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए ।
‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप समेत लगाए ।
दुईपटक प्रतिनिधि सभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको आरोप समेत ओलीमाथि लगाए । उनले ओलीलाई अहंकारको घोडामा सवार भने ।
नेपालले ओलीलाई प्रतिगमनकारी भने । ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेको टिप्पणी समेत गरे । ओली दक्षिणपन्थी अवसरवादको भाँसमा फसेको उनको आरोप थियो ।