ठूलो भाग खान गएका प्रेम आलेलाई झट्का, ओलीलाई धोका दिदा पाप धुरीबाट करायो
काठमाडौँ — मन्त्री खान गुट परिवर्तन गरेर एमालेबाट एकीकृत समाजवादी पार्टीमा समाहित भएका सुदुरपश्चिमका नेता प्रेम आलेलाई झट्का लागेको छ । उनलाई मन्त्री बनाउन पार्टी अध्यक्ष माधव कुमार नेपालले अनइच्छा देखाएकाले झट्का लागेको हो ।
माधव नेपालको पक्षमा जिउज्यान फालेर लागेका सुदुरपश्चिमका नेता शेरबहादुर कुँवरले पनि मन्त्रीमा दावि गरेकाले प्रेम आले यो पटक मन्त्री नहुने लगभग पक्का भएको छ । उनी मन्त्री नबन्ने भएपछि एमालेका नेताहरुले केपी शर्मा ओलीलाई धोका दिएको पाप लागेको बताउन थालेका छन् ।
अहिलेसम्म एकीकृत समाजवादीबाट युवा र महिलाको नेतृत्व गर्दै रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने भन्नेमा करिब–करिब सहमति जुटेको छ । त्यसबाहेक प्रदेश १ बाट भवानी खापुङले दाबी गरेका छन् ।
वाग्मती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठको दाबी छ । गण्डकी प्रदेशबाट किसान श्रेष्ठको मुख्य दाबी छ । सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर र प्रेम आलेले दाबी गरेका छन् । आलेले मन्त्री नपाउने लगभग पक्का छ ।
उनी खेमाका किसान श्रेष्ठ मन्त्री बन्ने भएपछि उनलाई बाइपास गरिएको श्रोतको भनाई छ । समाजवादीले उपसभामुखमा प्रदेश २ बाट एक जना महिलालाई अघि सार्ने तयारी छ ।
नेकपा एकीकृत समाजवादीलाई मन्त्रीका आकांक्षी मिलाउन हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भए पनि कहिलेसम्म विस्तार गर्नेबारे ठोस सहमति बनेको छैन । प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार उनीहरूले नाम दिएलगत्तै गर्ने तयारी छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रै हुने र त्यसपछि सरकारको काम प्रभावकारी हुने बताए । ‘अब धेरै ढिला हुन्न । केही दिनभित्रै विस्तार होला,’ उनले भने, ‘त्यसपछि सरकारको काम चुस्त हुन्छ ।’
स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।