दार्चुला घटनाको प्रतिवेदन सार्जजनिक गर्दै गृहमन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौँ — दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।
समितिको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितीमा घटेको देखिएको उल्लेख गर्दै उनीहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
पीडितको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।
समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिस समेत गरेको छ ।
