मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् आज गरेका महत्वपूर्ण निर्णय
काठमाडौं – आज बसेको मन्त्रीपरिषद् बैठक सकिएको छ । बैठकले विभिन्न खालका निर्णयहरु गरेको छ ।
अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।
त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकममा चार महिनाको भत्ता एकमुष्ठ पाउनेछन् ।
त्यस्तै, सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।
आजको मन्त्रीपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’