आजपनि यी ठाउँमा पर्दैछ पानी, बाहिर निस्किदा ख्याल गर्नुहोस्

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौं – आज पनि केही स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको मौसमविदले जनाएका छन् ।

जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । केही दिनयता देशका अधिकांश स्थानमा झरी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।