देउवाले पारिदिए माधव नेपालको प्लान चौपट, रुवाबासी सुरु
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्लान चौपट भएको छ । पशुपति क्षेत्र विकास कोषमा क्रिश्चियन धर्मावलम्बीहरुलाई ल्याउने नेपालको प्लान प्रधानमन्त्री शेरबहादुर देउवाले चौपट बनाइदिएका हुन् ।
सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा हिन्दुवादी डा. मिलनकुमार थापालाई नियुक्त गरेपछि उनको प्लान चौपटमात्रै भएको छैन रुवाबासी पनि सुरु भएको छ ।
कोषमा क्रिश्चियन धर्म निकट मानिसहरु ल्याउन सत्ता गठबन्धनकै नेताहरुबाट दबाब रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई अस्विकार गर्दै हिन्दुवादी नेता थापालाई कोषको सदस्य सचिव नियुक्त गरेका हुन् ।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेपालमा जबरजस्ती धर्म परिवर्तन गराएर क्रिश्चियनिटी विस्तार गर्ने एकनाथ ढकाललगायत युनिफिकेशन चर्चसँग जोडिएका मानिसहरुले कोषमा क्रिश्चियन धर्मप्रति बफादार व्यक्ति नियुक्त गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए ।
नेपालमा होली वाइन कार्यक्रम गर्ने युनिफिकेशन चर्च अन्तर्गतको इन्टरफेथ ग्रुपका मानिसहरुलाई कोषमा राख्न दबाब थियो । बाहिर हेर्दा हिन्दु देखिने तर भित्र क्रिश्चियानिटीप्रति बफादार छद्मभेषी मानिसहरु राख्ने प्रयास इन्टरफेथले गरेको थियो ।
इन्टरफेथसँग माधव नेपाल र एकनाथ ढकाल पनि जोडिएका छन् । यो तथ्य समाचारमार्फत बाहिर आएपछि माधव नेपालको आलोचना भयो । प्रधानमन्त्री देउवामाथि हिन्दुवादी संघसंगठनले दबाब बढाए ।
खबरदारी गरे । अन्तत प्रधानमन्त्री देउवाले माधव नेपालको प्रयास ध्वस्त पारिदिए । कोषमा हिन्दुवादी नेतालाई ल्याए ।
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी आफूहरुको चौतर्फी दबाबपछि सरकारले सही ठाउँमा सही व्यक्ति ल्याएको बताइन् । भण्डारीले क्रिश्चियन मानिस ल्याउने सुनेपछि आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र सरकारले अहिले आएर सही निर्णय गरेको बताइन् ।
हिन्दुवादी लिडरलाई कोषमा ल्याएपछि भण्डारीले खुसी व्यक्त गरेकी छन् । सरकारले विश्व हिन्दु युवा बाहिनी नेपालका पूर्वअध्यक्ष तथा विश्व हिन्दु महासंघ ललितपुरका पूर्वसचिव डा. मिलन कुमार थापालाई शुक्रवार पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गरेको हो ।
विश्व हिन्दु महासंघले थापाको नियुक्तिका लागि सरकारलाई धन्यवाद दिएको छ ।