जनार्धन शर्मा फेरी चर्चामा, प्रचण्ड खुशी हुनेगरी चाले यस्तो कदम

शनिबार, १९ भाद्र २०७८

काठमाडौं – अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एक पटक फेरी चर्चामा आएका छन् । पार्टीको संगठन विभाग प्रमुख समेत रहेको शर्माले ‘जनयुद्ध’ले स्थापित गरेको २१ औं शताब्दीको जनवादलाई फेरी बहसमा ल्याएका छन् ।

पार्टी कमजोर हुनुको मुख्य कारण २१ औं शताब्दीको जनवादलाई लागू गर्न नसक्नु भएको उनको भनाई छ । काठमाडौंमा शनिवार आयोजित माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा अर्थमन्त्री शर्माले २१ औं शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए।

२१ औँ शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई पार्टीले अब स्वीकार गर्नुपर्ने उनको भनाइ छ। शर्माले पार्टीलाई केन्द्रमुखी नभई जनतामुखी बनाउँदै अब मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे।

गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले अब मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमुखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे।

माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने धारणा राखे।

उनले वैचारिक राजनीतिक रूपमा पार्टी एकता गर्दा दिगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए। कार्यक्रममा अन्य नेताहरूले माओवादीलाई रूपान्तरण तथा जनता केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए।