नक्खु कारागारमा झडप, विप्लवका कार्यकर्ता घाइते

आइतबार, २० भाद्र २०७८

काठमाडौ – ललितपुरको नक्खु कारागारमा झडप भएको छ । नाइकेहरूले खाना खाने होटेलमा मूल्य वृद्धि गराइदिएपछि झडप भएको हो ।

झडपमा परि नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता घाइते भएका छन् । उनको नाम श्याम बज्राचार्य रहेको बुझिएको छ ।

खाना खाने होटलमा अस्वभाविक रुपमा मुल्य बृद्धि गर्दै जेलभित्रका नाइकेले कमिसन खान लागेको थाहा पाएपछि नेकपाका कार्यकर्ताले प्रतिकार गरेका थिए । जेलभित्र रहेका नाइकेको टोलीले उनलाई एकान्तमा लिएर कुटपीट गर्न थालेपछि झड्प भएको थियो ।

झडपमा उनी सामान्य घाइते भएको श्रोतको भनाई छ । कारागार व्यवस्था विभागले जेलभित्र झडप भएको पुष्टि गरेको छ । ‘सामान्य भनाभन भएको कुरा आएको छ ।’ कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले भने, ‘सत्य तथ्य के हो भुझेर प्रतिवेदन दिन भनेको छु ।’

नख्खु कारागारका जेलर चिरञ्जीवी पुरीले पनि सामान्य विवाद भएको बताए ।