यी तीन कारणले घट्यो सेयर बजार, कहिलेदेखि बढ्छ ? यस्तो भन्छन् विश्लेषक
काठमाडौं – धेरै समय पनि नेपाली सेयर बजारमा नकरात्मक सर्किट लागेको छ । आइतबार नकरात्मक सर्किट लाग्दा ४० मिनेट बजार बन्द गर्न परेको थियो ।
तीव्र उतारचढाव रहेको बजार १०८ अंकले घटेर २८१८ विन्दुमा बन्द भएको छ। १४७ अंक (५.०३%) ले घट्दा नेगेटिभ सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार नै रोकिएको थियो।
त्यसपछि भने अन्तिम समयमा समग्रमा सूचक ४० अंकले सुधार भएर बन्द भएको थियो । ४० मिनेट रोकिएर खुलेको बजार २० मिनेटमै १०० अंक बढ्ने÷घट्ने भएपछि बजार कता जाँदैछ भनेर झनै अन्योल देखिएको थियो।
एक समय २७७९ विन्दुसम्म झरेको बजार फेरि २८७५ विन्दुसम्म पुगे पनि त्यसमा लामो समय अडिन नसक्दा ओरालो लाग्दै अन्त्यमा २८१८ विन्दुमा बन्द भएको थियो । जसरी बजार बढ्यो त्यसरी नै घटेपछि फेरि सूचक २८०० कै लाइनमा आएको थियो। अन्तिममा केही अंकको सुधारले उक्त विन्दुलाई पार गरेको छ।
आज सेयर बजारमा ठूलो हलचल ल्याउने पहिलो कारण लगानीकर्ताको मनोविज्ञान नै हो । दोस्रो कारण, राष्ट्र बैंकले लागू गरेको चार र १२ करोड रुपैयाँको सेयर धितो कर्जा सीमाको नीति हो भने तेस्रो कारण तरलता कसिलो हुँदै जानु हो।
सेयर बजारका अनुभवी लगानीकर्ता चार र १२ करोडको सीमा लगाएपछि अधिकांश लगानीकर्ता बजारबाट बाहिरिएकाले बजार ओरालो लागेको बताउँछन्। ठूला लगानीकर्ता बाहिरिएपछि साना लगानीकर्ताले केही दिन बजार धाने पनि फेरि तरलता अभाव भएपछि बजार झनै घटेको लगानीकर्ताको बुझाई छ ।
उपसमूहतर्फ भने सबै समूहका सूचक रातो भएका छन्। एक हजार विन्दुभन्दा बढीमा रहेका ११ वटा सूचकमध्ये अन्य र बैंकिङ समूहबाहेक सबै उपसमूहमा १०० देखि ५०० अंक सम्मको गिरावट देखिएको छ।
जीवन र निर्जीवन बीमा समूह ५०० अंकभन्दा धेरै, विकास बैंक करिब ४०० अंक, व्यापार, हाइड्रोपावर र फाइनान्स समूह २०० अंक भन्दा धेरै, लघुवित्त र होटल तथा पर्यटन समूह १०० अंक भन्दा धेरै घटेका छन्।
अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३० करोड, नेपाल बैंकको २५ करोड, नबिल बैंकको २४ करोड र रिडी हाइड्रोपावरको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बजारले लय समाउन राष्ट्र बैंकले मौद्धिक नीति परिवर्तन गर्न पर्ने ठूला लगानीकर्ताको भनाई छ । त्यसका लागि दवाव दिन लगानीकर्ताहरुले सोमबार नोपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन् ।