छिमेकीको वयान, ‘एकै परिवारका ६ जनालाई लखेटी लखेटी मारे’
विराटनगर – संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको हत्या भएको हो ।
बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।
प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको हो ।
स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ । ‘मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं ।’ उनले भने ।
‘हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।’ उनले भने ।
‘काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन्,’ उनले भने, ‘उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ ।’
उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।
‘बौद्धमान (तेजबहादुरको बुबा) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुन्न र बोल्न सक्नुहुन्न ।’ उनले भने ।