संखुवासभा घटना, कुकुरले भेटाएन प्रमाण
काठमाडौं – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको प्रारम्भी छानवि सक्काएको छ । हत्याको मुख्य कारण पैसा नभएको प्रहरीको निश्कर्ष छ ।
संखुवासभाको कार्की परिवारले झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा थियो । सुरुमा मुख्य कारण पैसा होकी भनेर अनुसन्धा गरेपछि त्यसको गतिलो प्रमाण भेट्न सकेको छैन् ।
तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति जबरजस्ती प्रवेश गरेको देखिएको छैन ।
घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ भेटिएको छ, कानमा लगाएको मुद्री, तिलहरी लगायतका गहना पनि चलाइएको छैन ।
‘चोरी गर्ने उद्देश्य भएको भए गरगहना पनि लग्थे होला तर सबै ठिक छन्’ उनले भने । प्रदेश नं. १ का प्रहरी प्रमुख अरुणकुमार बिसी पनि आर्थिक पाटोबारे चर्चा भए पनि अनुसन्धानमा सहयोगी नभएको बताउँछन् ।
‘चोरी वा लुटपाटलाई जोडेर हेर्ने प्रयास पनि गर्यौं, तर त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन’ उनले भने, ‘घटना पछाडि अरु नै कारण पनि हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’
घटनामा लुटपाट वा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो ।
चिकित्सकले शवको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने भनेका छन् । प्रहरी पनि खेतमा मृत भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । ‘उहाँले अघिल्लो दिन बिहान धान गोड्न जाने बताउनुभएको रहेछ’ प्रहरी स्रोत भन्छ, ‘त्यसैको लागि खेतमा जानु भएको हुनसक्छ ।’
घटनाको अनुसन्धानमा संलग्न एसपी दाहाल पनि घटनास्थल घर बाहिरै रहेको बताउँछन् । ८४ वर्षीया वृद्धा पार्वती कार्कीको चाहिँ घरभित्रै हत्या भएको प्रहरी बताउँछ ।
प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।
नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो ।
तर बिहानको समयमा घटना हुँदा छरछिमेकले चाहिँ किन थाहा पाएनन् भन्ने प्रश्न पनि उठेको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार कार्की परिवारका छिमेकीहरुले बिहान कुनै शंकास्पद आवाज नसुनेको बयान दिएका छन् ।
प्रहरीले बिहान पानी परेको र नजिकै खोला रहेकाले आवाज आइरहने हुँदा अरुले थाहा नपाएको हुनसक्ने पनि अनुमान गरेको छ । सोमबार साँझ संखुवासभामा कुकुर पुगेपछि स्निफिङ गराइएको थियो । तर त्यति प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।
‘बेलुकी गरिएको स्निफिङ त्यति प्रभावकारी भएन, बिहान फेरि प्रयास गर्यौं’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर राति पानी परेकाले त्यो पनि फलदायी भएन ।’ स्रोतका अनुसार ‘पिकु’ र ‘लैला’ नामका ट्याकर डगलाई सबूत सुघाँएर छाड्दा शव छरिएका जति सबैतिर घुमेको थियो ।
तर त्यहाँबाट बाहिर कुकुरले दिशा पहिल्याउन सकेन । घटना भएलगत्तै स्थानीयको भीड जम्मा हुनु र पानी परेकाले पनि कुकुर अल्मलिएको हुनसक्ने अनुसन्धान अधिकृत बताउँछन् । यद्यपि कुकुर अनुसन्धानको एउटा सहयोगी विधि मात्र भएको र अन्य विभिन्न पाटोबाट छानविन भइरहेको अधिकृतहरु बताउँछन् ।