आमा बनिन् ऋचा शर्मा
काठमाडौं – नायिका ऋचा शर्मा आमा बनेकी छन् । उनले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छन् । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।
ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
नेपाली सिने जगतकी चर्चित नायिका ऋचाले नयाँ वर्षको मौका पारेर आफु आमा बन्न लागेको जानकारी गराएकी थिइन् । उनी गर्भवती अवस्थानै कमेडि च्याम्पियनमा जाने गर्थिन ।
ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ ।’ उनको यस्तो स्टाटस पछि बधाई दिनेहरुको ओइरो लागेको थियो ।
उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका थिए । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’
त्यस्तै, क्षितिजमा रहेकी आमाले पनि छोरीलाई ठूली भई भन्दै गरेको हुनुपर्ने उनले लेखेकी थिइन् । ‘मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई ।’
ऋचा शर्मा र दिपेक्ष विक्रम राणा २०७६ मंसिरमा वैवाहिक सम्बन्धमा गाँसिएका थिए । दिपेक्ष ललितपुरको पुल्चोक स्थित लविम मलका व्यवस्थापक हुन् । विवाह अघिदेखि नै उनीहरू प्रेम सम्बन्ध मा थिए । २०७६ पुसमा ऋचा शर्माकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको थियो ।