प्रचण्डले देउवासँग राखे सुन्दै ‘आङ सिरिङ्ग’ हुने प्रस्ताव
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन्नै नसक्ने खालको प्रस्ताव पेस गरेका छन् । प्रचण्डले उक्त प्रस्तावमा कांग्रेस सहमत नभए आन्दोलनको आँदीवेरी ल्याउने बताएका छन् ।
प्रचण्डले आफूले सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले जर्वजस्ती एमसीसी पास गर्न खोजे गठबन्धन भत्किने चेतावनी समेत दिएका छन् । कांग्रेसले असहमति जनाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्वसमानुपातिक संसदको विषयमा कांग्रेससँगै भिड्ने अवस्था आउन सक्ने बताएका हुन्।
प्रचण्ड नेपालमा चर्को बहसको विषय बनेको एमसीसीप्रति नकारात्मक नभएको भन्दै यथास्थितिमा संसद्बाट पारित हुन नसक्ने बताएका छन् । यो कुरा कांग्रेस सभापति देउवालाई पाच्य छैन् ।
काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा उनले भने, ‘देशभित्र र बाहिरबाट यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन्।’
प्रचण्डका भनाइमा ‘सकेसम्म गठबन्धन बचाएर देशलाई क्षति नहुने ढङ्गले त्यसको समाधान सकारात्मक ढङ्गले होस्’ भन्ने उनी चाहन्छन्। उनी भन्छन्, ‘तर अर्को वर्ग चुप लागेर बसेको छैन।’ आफूले षड्यन्त्रमा संलग्न देखेका देश बाहिर र भित्रका शक्ति वा व्यक्तिबारे भने उनले खुलाएनन्।
उनी निकट माओवादी नेता वर्षमान पुनले गम्भीर रूपमा गठबन्धन फुटाउने प्रयास भइरहेको तर त्यो सम्भावना तत्काल नरहेको बताए।
यस्तो स्थितिमा प्रचण्डले एमसीसीका सन्दर्भमा देखेको सकारात्मक समाधनको विकल्प के हुनसक्छ ? कतिपयले नेपाल सरकारको आग्रह अनुसार अमेरिकाले थप स्पष्ट पारेमा त्यो मिलनबिन्दु हुनसक्ने ठानेका छन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइमा अमेरिकाको जबाफपछि त्यसबारे अध्ययन हुन्छ। तर उनको पार्टीलाई सम्झौतामा उल्लेखित विषयमा पत्रमार्फत् दिएको जबाफ मात्र पर्याप्त हुने छैन। उनी भन्छन्, ‘सम्झौतामा एउटा लेख्ने तर पत्रमार्फत् त्यो होइन भनेर मात्र हुँदैन, संशोधन हुनुपर्छ।’
प्रचण्डले कांग्रेसले अस्वीकार गरेका विषयहरूलाई पनि जोडदार रूपमा उठाउने बताएका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा उठाए।
त्यसको निम्ति पहिले एमाले र कांग्रेस लगायतका दलहरूसँग छलफल गर्ने र त्यसपछि जनतामाझ बहस लैजाने उनको योजना छ। प्रचण्डले भन्छन्, ‘अब त्यति गर्दा पनि भएन भने आन्दोलनमा जाने, भिड्ने। शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी, हुरी चलाउनुपर्ने पनि हुनसक्छ।’
नेकपा एमाले र कांग्रेस जस्तो पार्टी नहुनका निम्ति भन्दै प्रचण्डले ‘समाजवादीतिर जाने भन्ने तर संसद्वादको बाटो हिँडेर नपुगिने’ ठहर सुनाए। तर नेता श्रेष्ठले चुनावको सन्दर्भमा प्रचण्डले त्यो कुरा उल्लेख गरेको प्रतिक्रिया दिए।
उनले भने, ‘अहिले आन्दोलन गर्ने पार्टीको कुनै नीति छैन।’ तर विगतमा सरकारको प्रतिरक्षा गर्ने गरेका प्रचण्डको बुधवारको भाषणमा विद्रोही वा असन्तुष्ट नेताको छवि झल्किएको कतिपयको ठम्याइ छ। उनीहरू ठान्छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग निकटता नबढाउन् भन्नेतर्फ सजग तुल्याउन प्रचण्डले चेतावनी झल्किने अभिव्यक्ति दिएका हुन सक्छन्।’