सत्तारुढ गठबन्धनमा लफडा, उपेन्द्रले ‘ल्याङ’ गरेपछि माधव नेपाल बैठकबाटै उठेर भागे
काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा अनौठो घटना घटेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे साझा धारणा बनाउन बसेको बैठकमा अनौठो घटना घटेको हो ।
सत्ता गठबन्धनका सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा उपस्थित हुन ल्याङ–ल्याङ गरेपछि माधव कुमार नेपाल रिसाएका छन् । नेपाल रिसाएर फाएर भएपछि बैठक शुक्रबार बिहान ९ बस्ने गरी स्थगित भएको छ।
बैठकमा भाग लिन आएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै उठेर हिँडेपछि सत्ता गठबन्धनले एमसीसीसहितका विषयमा निर्णय लिन नसकेको हो।
एमसीसी उपाध्यक्ष फातिमा सुमार प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर बालकोबाट फिर्दै गर्दा सत्ता गठबन्धनको बैठक बसेको थियो। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाका नेता सहभागी बैठक बसेको हो।
बैठकमा सहभागी जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीबारे कुनै छलफल नभएको बताइन्। ‘बालुवाटारमा हामी बसेका थियौँ। त्यहाँ एसमीसीबारे कुनै कुरा भएन’ उनले भनिन्, ‘भोलि फेरि बसौँ भन्ने भयो, अनौपचारिक कुराकानीपछि हामी उठ्यौँ।’
स्रोतका अनुसार यो बैठकमा जसपा अध्यक्ष यादव नआएपछि तथा एकीकृत समाजवादी अध्यक्ष नेपाल ढिला पुगेर पहिले निस्केपछि कुनै एजेण्डामा छलफल हुन नसकेको हो।
अमेरिकाले एमसीसी पास गर्नै पर्ने दबाब बढाइरहेका बेला सत्तारुढ गठबन्धन अझै साझा धारणा बनाउन असफल भएको छ। बिहीबार बिहान उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बसेको थियो।
कांग्रेस सहभागी नभइ बसेको उक्त बैठकलाई अर्थपूर्ण मानिएको छ। त्यो बैठकले सत्ता गठबन्धनमा खटपट सुरु भएको संकेत पनि गरेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
पछिल्लो कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी पासका लागि सदनमा टेबुल तयारी गरेसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ।
नेकपा माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा देखिएको छैन। यसअघि सरकारले सोधेका प्रश्नको अमेरिकाले चित्त बुझ्दो जवाफ नपठाएको भन्दै माओवादी एमसीसी पास नगर्ने पक्षमा देखिएको छ।
अमेरिकाले जवाफ अध्ययन गर्दा एमसीसी संशोधन नहुने अडानका कारण नेपालको संसदमा प्रस्तुत गर्ने सम्भावना नरहेको माओवादीका सचेतक देव गुरुङले बताए।
नेपालखबरसँग कुरा गर्दै गुरुङले सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिएकोले अघि बढाउने ुच्याप्टर क्लोजु भएको पनि घोषणा गरे।
‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिइएको छ, त्यसलाई संशोधन गर्न पनि नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भने, ‘अब त्यसलाई संसदमा पेश गर्ने ‘च्याप्टर क्लोज’ भयो।’
अर्कातिर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी पनि एमसीसीलाई लिएर अनिर्णित छन्। उनीहरुले पार्टीको ठोस धारणा तय गरिसकेका छैनन्। सत्तारुढमध्ये कांग्रेस मात्रै अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा छ।
यसैबीच बिहीबार बालकोटमा एमसीसी उपाध्यक्ष सुमारसँग भएको भेटवार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सत्तारुढ दलहरु प्रष्ट हुनुपर्ने बताएका छन्।
एमसीसी उपाध्य फातिमा सुमारसँग बालकोटमा भएको भेटका क्रममा आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तारुढ दलहरुले धारणा प्रष्ट पार्नु पर्ने बताएका हुन्।
‘एमसीसीबारे हामीले हतारिएर पोजिसन बनाउँदैनौं। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’, भेटका क्रममा ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने, ‘हिजो हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।’