भुसाललाई एकान्त बोलाएर ओलीले थर्काए

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसालसहितका नेताहरुलाई बोलाएर थर्काएका छन् ।

संसदमा भइरहेको विरोधमा सक्रिए नभएको भन्दै ओली एकान्त बोलाएर थर्काएका हुन् । उनले आफ्ना सांसदहरूलाई संसदीय सर्वोच्चताको नारा लगाउन निर्देशन दिएका थिए ।

बुधवार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूमध्ये निरुदेवी पाल, महेश बस्नेत, खगराज अधिकारी र अन्य केहीले बेलमा उभिएर चर्को नाराबाजी गरिरहेका थिए । तर अन्तिम समयमा ओलीलाई नै साथ दिएका माधवकुमार नेपाल पक्षीय मध्यमार्गी नेताहरू भने चुप देखिन्थे ।

गंगा चौधरी भने रोष्ट्रममै उक्लिन खोजेकी थिइन् । योगेश भट्टराई, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका दश भाइ सांसदहरूले संसद अवरुद्ध गर्न सक्रिय सहभागिता देखाएकाथिएन् ।

बुधवार र शुक्रवार दुवै दिनको नाराबाजीमा उनीहरू उठे मात्र, बेल घेराउ गर्न पुगेनन् । अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेका दश भाइ सांसदहरूको यस्तो रवैयाप्रति ओली भने आक्रोशित बनेका छन् ।

शुक्रवारको बैठकपछि बाहिर निस्किने क्रममा ओलीले भुसाल र भट्टराईलगायत केही नेताहरूसँग तपाईंहरू सक्रिय बनेको खै भनेर प्रश्न गरेका थिए ।

ओलीको प्रश्न सुनेका एक सांसदले भने – ‘अध्यक्षले त्यस्तो प्रश्न गरेपछि हामी एकछिन चुप भयौं । हामीमध्ये केही त देउवालाई प्रधानमन्त्री बनाउन परमादेश चाहिन्छ भन्दै सर्वोच्च अदालत पुगेका सांसद पनि हौँ । गरौंला नि भनेर हामी छुट्टियौ ।

बुधवार सञ्चारकर्मीहरू सामू कुरा गर्दै योगेश भट्टराईले तत्कालीन एमालेकै १४ सांसदहरूलाई पदमुक्त गर्ने माग आफ्नो मनमा नआएको प्रतिक्रिया दिएका थिए । उनीसँग नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री पनि सँगै थिइन् ।

एमालेका ओलीपक्षीय सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरिरहँदा विगतमा नेपाललाई सहयोग गरेका नेताहरू मौन बस्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा भुसाललगायत अन्य केही सांसद एकीकृत समाजवादीतिरै फर्किने चर्चा पनि चलिरहेको छ ।