फतिमा आएको मौका पारी चीनको सीमानामा के गर्दैछन् गृहका कमाण्डर

शनिबार, २६ भाद्र २०७८

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणको सिलसिलामा विभिन्न नेताहरुसँग भेटघाट गरिरहेकी छन् ।

उनी नेपाल भ्रमणमा रहेको बेलामा हुँदै नभएको विवाद भिकेर गृह मन्त्रालयको टोली चीनको सिमानामा पुगेको छ ।

चीनले मिचेको नेपाली भूमि खोज्न भन्दै सरकारी टोली हुम्ला पुगेको छ । हुम्लाको सीमा क्षेत्रमा देखिएको सीमा विवाद अध्ययन गर्न छानविन समिति हुम्ला पुगेर सीमातिर लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद सल्टाउन गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा छानविन समिति बनाएका थिए । समिति शनिबार हुम्ला पुगेर सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।

छलफलपछि छानविन टोली सीमातिर लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी(लाप्चा क्षेत्रबाट अवलोकन सुरु हुनेछ ।

अध्ययन टोलीले लिमी लाप्चासहित १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्ने कार्यतालिका छन् । लिमी लाप्चा क्षेत्रमा नेपाली भूभागमा चीनले भवन बनाएपछि विवाद उत्पन्न भएको थियो ।

तर तत्कालीन सरकारले उक्त भूभागलाई चीनकै हो भनिदिएपछि कांग्रेस नेता जीवनबहादुर शाही आफै स्थलगत अध्ययनमा गएर लिमी लाप्चामात्र होइन ८ ठाउँमा चीनले सीमामा भूमि मिचेको तथ्य बाहिर ल्याएका थिए ।

यो समस्यालाई हल गर्न चीनबाट भूमि फिर्ता गराउन देउवा सरकारले छानविन समिति बनाएको हो । समितिले अध्ययन गरेर अब यथार्थ बाहिर ल्याउने छ ।