माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो, को-को बन्ने भए मन्त्री ?

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं – नेकपा (माओवादी) केन्द्रको स्थायी समिति बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले विभिन्न खालका निर्णयहरु गरेको छ ।

बैठकले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग बनाएको हो ।

बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको महराले जानकारी दिए ।

‘विधानमा केही थपघट र परिमार्जन भएको छ,’ उनले भने, ‘अझै भाषमा थपघट गर्नुपर्ने भएकाले त्यसलाई छिटो सक्ने र केही परिमार्जन गरेर आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने गरि पारित गरियो ।’

बैठकले विभिन्न ४५ पार्टीबाट विद्रोह गरी आएकाहरूलाई समायोजन गर्नेबारे गठित कार्यदलले बुझाएको प्रतिवेदन पनि पारित गरेको छ। नियुक्त गर्न बाँकी प्रदेश समितिका पदाधिकारीबारे छलफल भए पनि आज कुनै निर्णय नभएको महराले जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तारबारे भने कुनै छलफल नभएको उनले बताए ।