देउवा जीले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह
मंसिर ५, रुपन्देही – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएर चित्त बुझ्दो काम नगरेको आरोप लगाएका छन् ।
विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई थियो ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाए ।