एक सातामा सरकार ढाल्ने माधव नेपालको घोषणा
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने घोषणा गरेका छन् । सरकार ढालेर आफूहरु एक साताभित्र सरकारमा सहभागी हुने उनले बताए ।
आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने – ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक साताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं।,’
‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’
यस्तै नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने बताएका छन् । गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् ।
‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु (एमाले) १२÷१३ जना छन्,’ पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु ।’
गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए । उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेकोसमेत दाबी गरे ।
‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ?’ उनले भने, ‘आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’