सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीपरिषद् विस्तार हुने

मंगलबार, ५ असोज २०७८

काठमाडौँ – मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

बैठक समिए लगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बसेको छ । बैठकले मन्त्रीपरिषद् विस्तारका बारेमा निर्णय गर्ने छ ।

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार दौरा सुरुवाल लगाएर तयार अवस्थामा बन्न नेतृत्वले भनेको छ । देउवाले पहिलो चरणमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुलाई नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गर्न लागेको बुझिएको छ ।

गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाउने वित्तिकै सपथको कार्यक्रम रहेको बालुवाटार श्रोतको भनाई छ ।

दल विभाजन सम्बन्धी अध्यादेशका कारण जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएपछि देउवाले पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । दोश्रो चरणमा नेपाली कांग्रेस र जसपाका नेताहरुलाई समेटेर मन्त्रपिरिषद विस्तार गर्ने तयारी छ ।