एमालेका चर्चित नेता माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
मकवानपुर – नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । माओवादीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् ।
उनी माओवादीको कुन जिम्मेवारीमा रहने भन्ने टुंगो लागिसकेको छैन । माओवादीबाटै संविधानसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नयाँ शक्तिमा थिए ।
२०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको एक दिन अघि एमालेमा प्रवेश गरेका थिए । हाल एमाले विभाजन भएसंगै लामिछाने पुनः माओवादीमा प्रवेश गरेका हुन् ।
लामिछाने तत्कालिन एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल निकट थिए । सिग्देलले एकीकृत समाजवादीमा हस्ताक्षर गरेसंगै लामिछाने माओवादीमा फर्किएका हुन् ।
लामिछानेको नेतृत्वमा कृष्ण कार्की, प्रेम वाइवा, सुसिल वली, सुजन थापालगायतका २ दर्जन एमाले र जसपाका कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी नेता कमानसिंह पाख्रिन पृथकले जानकारी दिए ।