कांग्रेस महाधिवेशन : सभापतिका उमेद्वारहरु वडामै पराजित

बुधबार, ६ असोज २०७८

सिन्धुपाल्चोक – नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तरगत विभिन्न वडाहरुको निर्वाचन भइरहेको छ । दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका छन् ।

बेलुकी अबेरसम्म भएको अधिवेशनमा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्वसभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी राजनीतिक गरिरहेका युवाहरु प्रतिनिधि चयन भएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशनमा ठूला नेताहरु नै पराजित भएका छन् । कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्रबहादुर थापा वडामा नै पराजित भए । त्यस्तै नेविसंघ महामन्त्री बलदेव तिमिल्सना पनि गाउँमा नै पराजित भएका छन् ।

त्यस्तै महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपाल र सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि गाउँमा नै पराजित भएका छन् । अन्य जिल्लास्तरका कतिपय नेताहरु पनि गाउँमा नै पराजित भएको कांग्रेसले जानकारी दिएको छ ।

त्यस्तै थुम्पाखरका भिष्मप्रताप भण्डारी र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी पनि गाउँमै पराजित भए । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले भने निर्वाचनमा धाँदली भएको भन्दै बहिस्कार गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रामचन्द्र पक्षधर नेता कार्यकर्ताहरुलाई गाउँमै हराउने नीति अघि सारेका थिए । अघिल्लो जिल्ला अधिवेशनमा पौडल पक्षधर विकास लामा जिल्ला सभापतिमा निर्वाचित भएपछि यो पटक भने बस्नेतले अन्य पक्षधरलाई गाउँबाट ‘पत्तासाफ गराउने नीति’ लिएको कांग्रेस स्रोतको दाबी छ ।

बस्नेतले गाउँगाउँमा अन्य पक्षका नेताहरुलाई हराउन निर्देशन दिएको स्रोतको दाबी छ । लामो समयदेखि कांग्रेसमा क्रियाशील पूर्व सभापति भुपेन्द्र थापाले अधिल्लो वर्ष जिल्ला सभापतिमा समेत उम्मेदवारी दिएका थिए ।