फेरी चर्कियो बालुवाटार काण्ड, खोज्दै जाँदा माधव नेपाल दोशी भेटिए

बुधबार, ६ असोज २०७८

काठमाडौं – बालुवाटार जग्गा प्रकरणले फेरी उग्र रुप लिएको छ । १० लाख धरौटीमा छुटेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नयाँ रहस्य खोलेपछि यसले अर्कै रुप लिएको छ ।

बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको भन्दै गच्छदार तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई दोशी थोपरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।

गच्छदारले भने, ‘प्रम निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ ।’

उनले मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ भएको बताए । ‘मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ ।’ उनले भने ।

सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उनकाृ भनाई छ ।

अख्तियारको असन्तुलित भूमिकाले संविधानको मर्म नै क्षतविक्षत भएको गच्छदारको गुनासो छ ।

गच्छदारले थपे, ‘लोकतन्त्रवादी नागरिकका रूपमा स्वतन्त्र न्यायालयप्रतिको मेरो विश्वास टुटेको छैन । मैले न्याय पाउँछु भन्ने लाग्छ । जो सुकै भ्रष्टाचारी भए जो सुकैलाई कारवाही गर्नुपर्छ तर अनुसन्धान र तहकिकात निष्पक्ष र विश्वासिलो हुनुपर्छ ।’