नेकपा (एस)बाट बरिष्ठ अधिवक्ता शम्भु थापा कानुन मन्त्री बन्दै, अरु कोको बन्दैछन् मन्त्री ?

बुधबार, ६ असोज २०७८

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीबाट बरिष्ठ अधिवक्ता शम्भु थापा पनि मन्त्री बन्ने भएका छन् । उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भएको छ ।

नेकपा एकीकृत समाजवादीले कानुन मन्त्रालय पाएको खण्डा थापा वा गोविन्द बन्दी मध्य १ जनालाई मन्त्री बनाउने विषयमा छलफल भएको हो । बन्दी नेकपा माओवादी केन्द्रका कट्टर विरोधी भएकाले थापालाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सल्लाह दिएकाले थापा मन्त्री बन्ने सम्भावना बलियो छ ।

आज साँझ बालुवाटारमा डाकिएको सत्ता गठबन्धनको बैठकमा चार वटा दलबीच मन्त्रालय बाँडफाडको टुंगो लाग्ने भएको छ । त्यसमा भोलि नै एकीकृत समाजवादीको तर्फबाट न्यूनतम दुई जना मन्त्री बन्ने सम्भावना छ ।

भोलि मन्त्री बन्ने सम्भावना रहेकामा नेतृ रामकुमार झाँक्री र अर्का एक जना कानुन व्यवसायी हुने स्रोतको दाबी छ । अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता थापामध्ये एक जना कानुन मन्त्री बन्ने सम्भावन छ ।

उनीहरुको नियुक्ति एकीकृत समाजवादीको कोटाभन्दा बाहिर ‘स्वतन्त्र विज्ञ’ को हैसियतमा हुन सक्छ । झाँक्री सम्भवतः शिक्षा या सञ्चार मन्त्री बन्ने छिन् ।

पार्टीको तर्फबाट मन्त्री बन्ने नामबारे केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा छलफल भएको स्रोतले बताएको छ । ‘आज बालुवाटारमा मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति भएपछि भोलि मन्त्रीको नाम टुङ्गो लगाइनेछ,’ स्रोतले भनेको छ ।

एकीकृत समाजवादीले ६ वटा मन्त्रालय र त्यसभित्र राज्यमन्त्री एक जनासमेत राख्ने छ । सम्भावित मन्त्रीहरुमा भवानी खापुङ र बिरोध खतिवडाको नाममा लगभग सबैले सहमति जनाएका छन् । बाँकीमा सुदूर पश्चिमबाट शेरबहादुर कुँवर र प्रेम आलेमध्ये एक जना हुने बताइएको छ ।

किसान श्रेष्ठले उद्योग मन्त्री हुने रहर राखेको चर्चा छ । खतिवडा भौतिक पूर्वाधार र उपत्यकाबाट जीवनराम श्रेष्ठ युवा,खेलकुद मन्त्री हुने सम्भावना बढेको एकीकृत समाजवादीको उच्च स्रोतले बताएको छ ।