एउटा सानो घटनाले अर्थमन्त्री शर्माको नाक काटियो

शुक्रबार, ८ असोज २०७८

काठमाडौं – अर्थमन्त्री जनार्धन शर्माको नाक काटिएको छ । आफ्नै गृह जिल्लाका एक युवाले नारायणहिटी दरवार भित्र सुरक्षित राखिएको पूर्वराजा ज्ञानेन्द्रको श्रीपेज चोर्ने असफल प्रयास गरेपछि शर्माको नाक काटिएको हो ।

मुसिकोट नगरपालिका–३ रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शर्माका मतदाता हुन् । मतदातामात्र होइन उनको पार्टीका कार्यकर्ता पनि हुन् । २०७४ सालको निर्वाचनमा घर्ती ज्यान फालेर शर्मालाई सहयोग गरेका थिए ।

आफ्नै जिल्लाको त्यही पनि मतदाताले यस्तो हर्कद गरेपछि माओवादीको स्कुलिङ र जनार्धनको कार्यकर्तामा दिएको प्रशिक्षण माथि प्रश्न उठेको छ ।

कम्युनिस्ट पार्टीको क्याडर, त्यो पनि जनयुद्धको आधार क्षेत्रबाट कोही राजा बन्छु भन्दै आउँछ भने यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

श्रीपेजको सुरक्षाका लागि राखिएको खुकुरी देखेपछि आफूलाई सिसा फुटाउने आइडिया आएको थियो । उनले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनका लागि राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका हुन् ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ दाहालले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।