एनसेल लुटेरा संस्था हो, यसलाई नेपालबाट लखेट्न पर्छ : विप्लव
काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले दूरसंचार प्रदाक कम्पनी एनसेल लुटेरा भएको बताएका छन् । पार्टी निकट मजदूर संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले यसलाई नेपालबाट लखेट्न पर्ने बताए ।
‘नेपालबाट अर्बौ कुम्ल्याएर विदेश पलायन हुने पुँजीपतिहरु, हामीले देख्यौँ नी । एउटै एनसेलले कति लग्यो ?’ उनले भने, ‘यो हामी कहिल्यौ भन्न छोड्ने छैर्नौँं । जुनदिनसम्म एनसेल नेपालमा रहन्छ नी, त्यस दिनसम्म यो पार्टीले भन्न छोड्ने छैन् । यो एनसेल भनेको लुटेरा संस्था हो ।’
उनले एनसेले एउटै संस्थाले १ खर्व रुपैयाँ अपचलन गरेको बताए । उनले भने, ‘त्यो १ खर्व किसानका छोरोछोरीको पैसा हो । त्यो नेपालका युवा युवतीको पैसा हो, नेपालका नागरिकको पैसा विदेशका बैंकमा लगेर थन्क्याइएको छ ।’ ‘यहाँका दलाल पुँजीपति बर्गलाई भाग लगाइएको छ । राजनीतिक पार्टीलाई भाग लगाइएको छ । यसका विरुद्धमा कोही पनि बोल्दैन् । कांग्रेस बोल्दैन, एमाले बोल्दैन माओवादी बोल्दैन ।’ उनले भने, ‘यीनीहरु के हुन् ? कांग्रेस, एमाले, माओवादी भनेका एनसेलका दलालहरु हुन भन्ने पुष्टि भएको छ ।’
आम मान्छेहरुले विरोध गरिरहेको भन्दै विप्लवले भने, ‘सर्वोच्च अदालतले एनसेलले ७२ अर्ब अपचलन गरेको भनेर भनेको छ । तर संसदले घटाउँदै, घटाउँदै ल्याएर २२ अर्बमा झारेको छ । यो के हो ?’ सरकारले चलाएका कम्पनीलाई वेवास्था गर्दै घाटामा लैजाने र निजी क्षेत्रबाट चलेका कम्पनीहरु नाफामा जाने गरेको भन्दै यसको अन्त्यका लागि दलालहरुको पहिचान गरी लखेट्न पर्ने बताए ।
‘अघिल्लो बर्ष सरकारले चलाएको नेपाल टेलिकम भन्दा एनसेलले २ अर्व बढि कमायो रे ।’ विप्लवले भने, ‘यो हामीले भनेको होइन, उनीहरुकै तथ्याङ्कले भनेको हो ।’ ‘सरकारले चलाएका कम्पनीहरु डुब्दै जाने, जनताको करबाट चलका कम्पनीहरु डुब्दै जाने । एउटा पुँजीपति, एउटा विदेशी मालिकले चलाएको कम्पनीहरु रातारात अरवपति भएर जाने ? यस्तो के कारणले हुन्छ ?’ उनले भने ।
गम्भीर रहस्य खोल्दै विप्लवले भने, ‘विदेशी कम्पनीहरुसँग साटगाँट गर्न नेपालभित्रै कोही बसेको छ । यो देशको सत्तामा विदेशीका एजेण्टहरु छन् । यो कुरा हामीलाई राम्रोसँग थाहा छ । हामीले जनतालाई बुझाउन पर्छ ।’ उनले यस्ता दलालहरुलाई खोजीखोली दुलाबाट निकालेर लखेट्न पर्ने बताए । त्यसका लागि नेकपा जस्तोसुकै बलिदान दिन तयार रहेको पनि उद्घोष गरे ।