यी हुन जसपाको भागमा परेका ४ मन्त्रालय
काठमाडौं – जनता समाजवादी पार्टीले जम्मा ४ मन्त्रालय मात्र पाउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय पाउने भएको हो।
मंगलबार बसेको गठबन्धनको बैठकमा जसपाले चार मन्त्रालय पाउने टुंगो लागेको हो।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
मंगलबार गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार जसपाले गठबन्धन सरकारमा चार मन्त्रालय पाउने छ।
‘हामीले चार मन्त्रालय पाउने सहमति भएको छ, राज्यमन्त्रीसहित मन्त्रीको संख्या भने चारभन्दा बढी हुनसक्छ’, जसपाका एक नेताले भने।
सहमति अनुसार जसपाले भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय र वन मन्त्रालय पाउने ती नेताले बताए।
भौतिक पूर्वाधार र वन मन्त्रालयमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको भए पनि अन्ततः ती मन्त्रालय जसपाको भागमा परेका हुन्।
‘अब कुनै नाटकीय फेरबदल भएन भने हाम्रो भागमा यी चार मन्त्रालय हुने छन्’, जसपाका ती नेताले भने।