राज्यमन्त्रीले पल्टाइदिए रामकुमारी झाँक्रीकाे कुर्सी, माधव नेपाललाई आपत
काठमाडौँ — शुक्रबार साँझ सहरी विकास मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा नवनियुक्त मन्त्री रामकुमार झाँकीले आफूसँग बोल्ने विषय नभएको भन्दै थिइन् । त्यसका लागि उनले सञ्चारमाध्यमहरुमा मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारीका विषयमा आएको फरक-फरक समाचार भएको बताइन् ।
‘सञ्चार माध्यममा १० पटक मन्त्रालय सरुवा भयो । के बोल्ने भनेर सोच्न पनि नसक्ने अवस्था थियो । १ घण्टा एउटा, ४ घण्टाअघि अर्को र १० घण्टाअघि झनै अर्को थियो,’ झाँक्रीले भनिन् । तर झाँक्रीको भनाइ जस्तो जिम्मेवारीको विषयमा नेकपा (एकीकृत समाजवादी) फरक-फरक निर्णयहरु गरेको थियो ।
बालुवाटारमा बिहीबार दिउँसो मन्त्रालय र संख्या निर्धारणपछि मन्त्रिपरिषद्को जाने व्यक्तिबारे सहमति भएपछि स्थायी कमिटीले व्यक्तिको बारेमा निर्णय गर्ने अधिकार सचिवालयलाई दियो । नेकपा (एस)को भागमा चार मन्त्री र एक राज्यमन्त्री परेको थियो ।
स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र श्रम तथा रोजागार मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीहरुको बारेमा निर्णय गर्न बिहीबार साँझ नै सचिवालय बैठक पनि बस्यो ।
सचिवालयलले पनि आकांक्षीहरु दुई समूह बनाउने निर्णय गर्यो । पहिलो चरणमा विरोध खतिवडा, रामकुमार झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
मन्त्री हुने चर्चामा रहेका अर्को समूह पनि नेकपा (एस)ले तयार पारेको थियो । जसमा शेरबहादुर कुँवर, मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम थियो । भवानी खापुङको हकमा भने फरक निर्णय थियो ।
‘चुनावअघि अहिलेको मन्त्रिपरिषद् पुनर्गठन हुने छ । त्यस समयमा अर्को समूह मन्त्रिपरिषद्मा जाने छ’, एक स्थायी कमिटीका सदस्यले भने, ‘करिब ६ महिनाको अन्तरमा जिम्मेवारी हेरफेर हुन्छ ।’ बिहीबार साँझ भएको बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई सहरी विकास, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको गर्ने सहमति भएको थियो ।
शुक्रबार बिहान नेताहरुले खापुङसँग छलफल गरे । खापुङलाई पहिलो लटमै जान चाहे राज्यमन्त्री र दोस्रो लटमा मन्त्रिपरिषद्मा जाने भए मन्त्रीको जिम्मेवारी दिने जानकारी गराए । स्रोतका अनुसार खापुङले पार्टीले राज्यमन्त्रीमा पठाउने निर्णयलाई सर्तसहित स्वीकार गर्ने बताएका थिए ।
त्यसपछि सचिवालय बैठकले स्वास्थ्यमा खतिवडालाई पठाउने र झाँक्रीलाई पर्यटनमन्त्री बनाउने निर्णय गर्यो । तर जिम्मेवारीको विषयमा तत्कालै कुनै निर्णय गर्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो । नेपालले आलेसँग जिम्मेवारी हेरफेरको कुरा गरे । आले पर्यटनमै बस्ने भनेपछि झाँक्रीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो ।
अन्तिम समयमा नेकपा (एस)को मात्रै नभएर जनता समाजवादी पार्टी पनि नाम परिवर्तन भएको थियो । बिहीबार साँझसम्म महिन्द्र राय यादव मन्त्रिपरिषदमा जाने निर्णय भएको थियो ।
तर, मन्त्रिपरषदमा यादवहरुको बाहुल्यता हुने भएपछि महिन्द्रको ठाउँमा प्रमोद साहलाई पठाउने विषयमा सो दलमा निर्णय भयो । तर महिन्द्रले आफूलाई पठाउनु पर्ने अडान नछाडेपछि अन्तिम समयमा कृषि मन्त्रालय जिम्मेवारी दिइएको थियो ।