कालापानी–लिपुलेक क्षेत्रमा कति छ जनसंख्या ? दार्चुलाबाट आयो पुरा विवरण

मंगलबार, २६ असोज २०७८

दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा रहेका नेपालीहरु विवरण आएको छ । त्यहाँ तीन ओटा गाउँ छन् ।

नाभी, कुटी र गुञ्जीममा सात सय ७६ छ जनाको बसोबास छ । त्यहाँ तीन सय ४१ घरधुरी छ । भारत अधिनस्थ यी क्षेत्रहरुलाई संविधान संशोधन मार्फत नेपालको नयाँ नक्शामा समेटिएको थियो ।

तर, अझैसम्म पनि त्यहाँ नेपालको पहुँच भने स्थापित भएको छैन । बरु भारतीय पक्षले नेपालीको प्रवेशमा झन् कडाइ गरेको छ । भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन् । कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्न असम्भवप्रायः छ ।

नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेका थिए । तर, हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ । लम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता छ ।

राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । ती क्षेत्रमा भारत सरकारले सन् २०११ मा जनगणना गरेको थियो । यसै वर्ष फेरि अर्को जनगणनाको तयारी छ ।

नौ वर्षअघिको भारतीय जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँमा एक सय १५ घरधुरी छन् भने जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष एक सय ९८ र महिला एक सय ६५ छन् ।

६ वर्षमुनिका बालबालिका २७, दलित ३१ र जनजाति ९सौका समुदायका० दुई सय ९१ जना छन् । एक सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

नाभीग्राम पञ्चायतअन्तर्गत महाकालीपूर्वको नाभीगाउँमा ३२ घरधुरी छन् । नाभीगाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिलातथा ६ वर्षमुनिका दुई बालबालिका छन् । साक्षरता प्रतिशत ८५ रहेको छ ।

गुञ्जीग्राम पञ्चायतमा पर्ने गुञ्जीगाउँमा एक सय ९४ घरधुरी छन् । दुई सय २९ पुरुष र एक सय ६ महिला गरी तीन सय ३५ जनसंख्या छ । ६ वर्षमुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता छ ।

अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या सात सय ७६ छ भने घरधुरी संख्या तीन सय ४१ छ । जनसंख्यामध्ये महिला तीन सय चार र पुरुष चार सय ७२ छन् । तीनवटै गाउँमा सौका समुदायको जनसंख्यामात्रै पाँच सय ६३ रहेको भारतको सरकारको अभिलेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा सबैले चिन्ने नाम हुन् । तर, यीगाउँका नाम नभएर पहाडी श्रृङखलाका नाम हुन् । यस क्षेत्रमा पर्ने तीनगाउँहरू कुटी, नाभी र गुञ्जी हुन् ।