प्रचण्ड–बाबुरामको सातो खानेगरी आयो पूर्वराजाको विज्ञप्ति, राजसंस्था फर्किने संकेत

मंगलबार, २६ असोज २०७८

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् ।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौँ’, उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्’

यस्तै उनले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् । ‘हाम्रो समाज सनातनिक आदर्श र पूख्यौली पौरखबाट पृथक छैन ।’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन् । लोककल्याणका हेत, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो ।’

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको आरोप लगाएका छन् । कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, वेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न नपाएको उनको भनाई छ ।

‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ ।’ उनले भनेका छन्, ‘दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुऱ्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ ।’

सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनु पर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले आफ्नो मन पोलेको बताएका छन् ।

‘हरेक नेपालीलाई आफनो स्वतन्त्र बिचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ । राजसंस्था बैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘शाहबंशीय राज पदद्धिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जन चाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दभित भए पनि नामेट हुन सक्तैन, योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ । केहि समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त बिचारहरूलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको संचार समेत गराएको रुपमा बुझेका छौं ।’ भनिएको छ ।

‘देशको तत्कालिन परिस्थितिले हामीलाई बेग्लै जिम्मेबारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौं । प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौ ।’ उनले भनेका छन् ।

‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विध्यमानका नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउंदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौं ।’ उनको भनाई छ ।