नयाँ सरकार बन्न अब ४ दिनमात्र बाँकी, प्रचण्ड लास्टै तनावमा
काठमाडौँ – नयाँ सरकार बन्न अब मात्र ४ दिन बाँकी छ । आगामी कार्तिक ५ गते कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि नयाँ सरकार बन्नेछ ।
यो विषयले पूर्वप्रधानमन्त्री एबम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई झट्का लाग्ने भएको छ ।
कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ। खुमलटार निकट स्रोतका अनुसार सो प्रदेशमा मुख्यमन्त्री छाड्ने मन नभएपनि बाध्यताले छाड्नुपरेपछि प्रचण्डलाई तनाव भएको छ ।
तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। त्यसका लागि कात्तिक ५ गते मुख्यमन्त्री शाहीले राजीनामा दिनेछन्।
‘मलाई लाग्छ, ढिलोमा कात्तिक १० गतेसम्म नयाँ सरकार बन्छ,’ मुख्यमन्त्री बन्न लागेका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भने।
मुख्यमन्त्री शाहीले पनि सहमतिअनुसार कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न आफूले मार्गप्रशस्त गर्न लागेको आफूनिकटहरुलाई बताइसकेका छन्।
कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो। एमाले र माओवादीबीच भएको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो।
त्यसैगरी एमालेका चार जना प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरु चारै जनालाई एमालेले कारबाही गरेपछि उनीहरुको सांसद पद गुमिसकेको छ।