प्रेरणा लिनुहोस्
काठमाडौँ – कोही असल मित्र, प्रेरणापरक पुस्तक, कुनै खास घटनाले मानिसको जीवनमा आमूल परिवर्तन ल्याइदिन सक्दछ । यस प्रकारको प्रेरणा उनीहरूको मनभित्र सुतिराखेको शक्तिलाई जगाइदिन पर्याप्त हुन्छ र यसपछि उनीहरू आफै अघि बढ्दै जान्छन् । र, आफ्नो प्रयत्नबाट तिनीहरूमाथि उठ्दछन् ।
जो व्यक्ति उसलाई सहायता गर्ने कोही छैन भनेर गुनासो मात्र गरिरहन्छन्, तिनीहरूले के कुरा बिर्सेका छन् भने अगाडि बढ्नको लागि स्वयं आफू सबभन्दा ठूलो सहायक हो । आफ्नो सहारा आफै हो । सबैभन्दा ठूलो शक्ति आफ्नो शक्ति हो । तपाइँ स्वयं नै महान् हुनुहुन्छ ।
बाह्य प्रेरणाको आशा राख्नु एउटा बहाना मात्र हो, यो त कायरता र मूर्खता मात्र हो । साहसी एवं उद्यमशिल व्यक्ति यस्तो बहाना कहिल्यै गर्दैनन् । सच्चा साथी त आफ्नो योग्यता हो । सच्चा प्रेरक शक्ति प्रकृति हो जो हरक्षण प्रेरणा दिइरहेको हुन्छ । उठ्नुस्, अगाडि बढ्नुस्, बढ्दै जानुस्, नरोकिनुस् ।
यदि तपाइँसँग योग्यता छैन, तपाइँ कमाउन पनि जान्नुहुन्न भने अचानक तपाइँलाई अपार सम्पति आइलाग्यो भने पनि त्यसको केही काम लाग्दैन । जो कमाउन जान्दैन, ऊ खर्च गर्न पनि जान्दैन । बुद्धिमानले मात्र मिलाएर खर्च गर्न जान्दछ ।
परिश्रम विना सित्तैमा अपुतालिमा मिलेको धन कमाउन नजान्नेले वर्षदिन भित्रै उडाएर सिध्याइदिएका अनेकौं उदाहरण छन् । खाएर, पिएर र विलासितामा त्यसलाई उडाइदिन्छ त्यस्ता व्यक्तिले । अतः तपाइँको भित्र पनि तपाइँका लागि अपार धन संग्रह गरिदिने मानिसहरूको जत्तिकै धन आर्जन गर्ने प्रवृत्ति हुनुपर्दछ ।
प्रत्येक मान्छेमा सारा गुण हुन्छ, उनीहरूसँग शक्ति पनि हुन्छ । उनीहरूको भित्र महान्ताको विउ पनि छ । तापनि उनीहरू उत्साहको अभावको कारणले जहाँको त्यहीं रहिरहन्छन् । शिखरतिर बढ्ने प्रयास नै गर्दैनन् । त्यसैले जब तपाइँलाई तपाइँको आत्माले माथि उठ्ने प्रेरणा दिन्छ त्यो क्षणलाई व्यर्थ नगुमाउनुहोस् ।
भित्रभित्रै सलबलाएको शक्तिको समुन्द्रलाई नरोक्नुस्, ज्वारलाई नछेक्नुस् । जव सफलताको नजिक पुग्दछ, मानिसहरू हतारिन्छ र त्यत्तिकै निरास हुन थाल्दछन् । जब कि त्यस्तो अवस्थामा अलि मेहनत गरेमा सजिलै सफलता प्राप्त हुन्थ्यो । त्यसैले सफलता नमिलेसम्म आफूले सक्नेजति सदैव मेहनत गर्दै रहनु पर्दछ । त्यस्तो निरन्तर मेहनतले तपाइँको जीवनमा एउटा ठूलो परिवर्तन आउँछ ।
शक्तिको मूल जब फुट्दछ, बाटोमा आइपरेका अवरोधले कुनै रोकावट गर्न सक्दैन । शक्तिको छालले त्यसलाई पनि बढारेरै लैजान्छ । शक्तिको लहर बढ्दै जान्छ पूरा शक्तिको साथ, पूर्ण बेगको साथ ।
शक्तिको यस्तो स्रोत कहिलेकाहीं प्रेरणादायी मौका आउने बित्तिकै अचानक फुट्दछ । उदाहरणको लागि खेतबारीमा काम गरि बसेको कुनै एक युवकको भित्र अभिनेताको क्षमता लुकिरहेको हुनसक्छ । ऊ गाउँमा आउने नौटंकी, नाटक मण्डलीको कलाकारको अभिनय देखेर सोच्दछ कि ऊ तिनीहरूभन्दा राम्रो अभिनय गर्न सक्दछ ।
तर, उसलाई थाहा छैन त्यस गुणको विकास कसरी गर्ने हो । फिल्म हेरिरहेको बखत ऊ भित्रको कलाकारिता मौलाउँछ र जुर्मुराउँदै बाहिर निस्कन खोज्छ । अन्ततः ऊ गाउँ छोडेर शहर छिर्छ, नाटक मञ्चमा अभिनय गर्न थाल्दछ । त्यताबाट ऊ रेडियो, टि.भी. आदिमा अभिनय गर्दै सिनेमामा अभिनय गर्न पुग्दछ । आफ्नो प्रकृति अनुसारको अभिनय गरेर ऊ धेरै ठूलो अभिनेता बन्न सक्दछ ।