प्रेरक प्रसंग : कस्ता व्यक्तिको संगत गर्ने ?
काठमाडौँ – घरमा तपाइँले कोही काम गर्ने मानिस राख्नुभयो । केही दिनपछि त्यो व्यक्ति तपाइँको धन, गहना आदि चोरेर बेपत्ता भयो । यस्तो किन हुन सक्यो ? किनभने तपाइँ उसको अनुहार पढ्न असफल हुनुभयो । तपाइँलाई अर्को व्यक्तिलाई कसरी चिन्ने भन्ने ज्ञान र अभ्यास छैन ।
हामीहरू सबै जो अरू व्यक्तिसँग सम्पर्कमा आउँदछौं, तिनीहरूको बारेमा कुनै न कुनै प्रकारको अनुमान लगाउँदछौं । तर व्यवहारमा आउँदा यदाकदा हाम्रा ती अनुमानहरू गलत सावित हुन पनि पुग्दछन् । हामी कसैलाई इमान्दार र असल मानेर ऊसँग मित्रता गर्न पुग्दछौं । आवत–जावत सुरू हुन्छ ।
एक दिन ऊ आफ्नो विशेष समस्या देखाएर हामीसँग अलिकति सापटी माग्दछ, हामी मित्रतावश दिन्छौं पनि । तर के हुन्छ ? त्यो व्यक्ति एकाएक हराईदिन्छ । उसको काम नै ठाउँ–ठाउंमा फरक–फरक नाम बताएर मित्रता गाँस्दै ठगी गर्ने रहेको हुन्छ । हामी त्यो जान्दैनौं । हामीलाई हाम्रो मुर्खतामा घोर दुःख हुन्छ ।
मानौं तपाइँ व्यापारी हुनुहुन्छ । कोही अर्को व्यापारी तपाइसँग लाखौंको कारोबार गर्दछ । उधारोमा सामान लैजान्छ । तपाइँ उसलाई इमान्दार सम्झिनुहुन्छ, तर अन्ततः तपार्इँको लगानी डुब्दछ । यतिका कठिनाई । यतिका हानी ।
घरमा काम गर्ने मान्छे राख्नुहुन्छ । तपाइँलाई लाग्नसक्छ, केटो इमान्दार र सोझो छ । अनुहारमा सरलता छ ।
तर, एक दिन… एक दिन त्यही केटो तपाइँको धनसम्पत्ति, नगद, गहना लिएर भागिदिन्छ । तपाई हेरेको हेयै हुनुहुन्छ । यस्तो किन हुन्छ ? यो तपाइँको गल्ती हो । यो तपाइको भूल हो । तपाई अनुहार पढ्न असफल हुनुभयो । तपाइँलाई अरूलाई चिन्ने ज्ञान र अभ्यास छैन ।
कहिलेकाहीं यस्तो पनि हुनसक्छ, तपाईं जे भनिरहनुभएको छ, जे विषयमा बोलीरहनुभएको छ, तपाईंका वरिपरिका स्रोताहरू तपाईंको कुरामा आकर्षित भइरहेका छैनन् । उनीहरूलाई तपाइँका कुरा मन परिराखेको छैन । यसको मतलब के हो भने तपाइँलाई कहिले, कसरी र कोसँग कस्तो कुरा गर्नुपर्दछ भन्ने ज्ञान छैन ।
तपाइँको मित्र कम, शत्रु धेरै छन् ।
तपाइँलाई राम्रो भन्ने थोरै र नराम्रो भन्ने धेरै छन् । र, यस्तो तब भइराखेको छ जब कि तपाइँले कसैको हानि नोक्सानी गर्नुभएको छैन । कसैलाई नराम्रो सोच्नुभएको छैन । फेरि के कारणले गर्दा तपाइँलाई निन्दा गर्नेहरूको संख्या प्रशंसा गर्नेहरूको संख्या भन्दा धेरै छ त ?
यदि तपाइँ माथि भनिएका सबै कुरामाथि ध्यानपूर्वक विचार गरेर हेर्नुहुन्छ भने दोषी आफूलाई नै पाउनुहुन्छ । किनभने तपाइँलाई अरू व्यक्तिलाई अध्ययन गर्ने, अरूको अनुहार पढ्ने कला र ज्ञान छैन।
यो कला अभ्यासबाट प्राप्त हुन्छ । अभ्यास गर्नु सरल पनि छ । तपाईं जब कसैसंग भेट गर्नुहुन्छ उसको अनुहार ध्यान दिएर हेर्नुहोस् । उदाहरणको लागि, कोही व्यक्ति तपाइँसँग काम माग्न आएको छ । र तपाइँलाई पनि घरमा काम गर्ने व्यक्तिको आवश्यकता परेको छ ।
सर्वप्रथम तपाइँ त्यस व्यक्तिलाई गहिरो दृष्टिले हेर्नुहोस् । उसको अनुहारमा प्रेमपूर्ण दृष्टिले हेर्नुहोस् । उसको आँखामा सोझै हेर्नुहोस् । र, ख्याल गर्नुहोस् त्यस व्यक्तिले तपाइँको आँखामा सोझै हेर्न सक्छ कि सक्तैन । कतै त्यसले तपाइँसँग आँखा जुधाउन नमानिरहेको त छैन ? उसको आँखामा के देखिन्छ श्र उदासिनता ? पशुता ? वदमासी ?
या सोझोपन ? सरलता ? प्रेम ? श्रद्धा ? इमान्दारिता ? आँखाले धेरै कुरा बताउँछ । अभ्यास गर्दै जाँदा तपाइँलाई मान्छे चिन्न सजिलैसँग आउन थाल्दछ । यो मनोविज्ञान हो । अभ्यास गर्नुहोस् कि कस्तो भावले के संकेत गर्दछ ।
आँखामा सोझै हेर्दै काम खोज्दै आएको त्यस व्यक्तिलाई उसको नाम सोध्नुहोस् । प्रश्न सोध्दै त्यस व्यक्तिको आँखा, निधारका रेखा, ओठको आकृति नियालेर हेर्नुहोस् । तपाई उसको आफ्नो नाम सही बताइरहेको छ कि छैन भन्ने सजिलै थाहा पाउन सक्नुहुन्छ ।
उसले आफ्नो ठेगाना सही भनिरहेको छ कि छैन । व्यापारमा विभिन्न खालका मानिसहरूसँग सम्पर्क हुन पुग्दछ । सच्चा, झुठा, इमान्दार, बेइमान आदि । यदि तपाइँलाई अनुहार पढ्ने ज्ञान छ भने तपाईं धोखा खानबाट बच्नुहुन्छ ।
तपाइँ कुनै कम्पनीको प्रतिनिधि, एजेन्ट हुनुहुन्छ र यदि तपाइँलाई अनुहार पढ्ने कलाको ज्ञान छ भने तपाइँ ठूला ठूला अर्डर लिन सक्नुहुन्छ । तपाईं थोक व्यापारी हुनुहोस् वा उत्पादक, अनुहार पढ्ने कलाले तपाइँलाई ठूलो सफलता दिन्छ ।
आफ्नो कर्मचारीको मनोविज्ञान तपाइंले बुझनु जरूरी छ । अभिकर्ता पनि सही ढंगले छान्न सक्नुपर्दछ । कारोबार गर्न आएको व्यक्तिको अनुहारको पहिचान तथा उसको चरित्रको आंकलन गर्नसक्ने कला तपाईमा हुनु जरूरी छ ।
अनुहार र आनी–बानी हेरेरै जोसुकैको चरित्रबारे धेरै सजिलोसंग ज्ञान लिन सकिन्छ । बस्, आवश्यकता छ– अभ्यास र ध्यानको। क्रमश…